‘कर्मचारी सञ्चय कोष ऐन, २०१९’ बमोजिम वि.सं. २०१९ भाद्र ३१ गते कर्मचारी सञ्चय कोषको स्थापना भएको हो । कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरू र स्वरोजगारमा संलग्न व्यक्तिहरुको निमित्त सञ्चय कोष व्यवस्थापन गर्दछ । साथै¸ कोषले ‘निवृत्तभरण कोष ऐन, २०७५’ बमोजिम वि.सं. २०७६ श्रावण १ देखि नियुक्त भएका निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका राष्ट्रसेवकहरुका साथै नेपाल सरकारको स्वमित्वमा रहेका र नेपाल सरकारको अनुदानमा सञ्चालन हुने सबै निकायका कर्मचारीहरुको योगदानमा आधारित निबृत्तभरण कोष व्यवस्थापनको कार्य समेत गर्दै आएको छ । कोषले सञ्चयकर्ताहरुलाई सामाजिक सुरक्षाका सुविधाहरुबाट लाभान्वित गराउनुका साथै थप नयाँ सुविधाहरुको अध्ययन तथा अनुसन्धान र कार्यान्वयन गर्ने गर्दछ । यसले सञ्चयकर्ताको सेवाकालीन आवश्यकता परिपूर्तिका लागि विविध प्रकारका सापटी सुविधाहरुको सञ्चालन तथा व्यवस्थापन लगायतका कार्य समेत गर्दै आएको छ । कानूनद्वारा अनिवार्य बचत व्यवस्थाको रुपमा व्यवस्थित गरिएको कर्मचारी सञ्चय कोषलाई आयकर ऐन, २०५८ ले स्वीकृत अवकाश कोषको रुपमा परिभाषित गरेको छ । कोषको नेपाल सरकारसँगको सम्बन्ध अर्थ मन्त्रालय मार्फत हुने गर्दछ । कोषको केन्द्रिय कार्यालय¸ पुल्चोक ललितपुरमा रहेको छ ।
एक विश्वस्त संस्थाको रूपमा, कर्मचारी सञ्चय कोषले आफ्ना सदस्यहरूको दीर्घकालीन आर्थिक सुरक्षाका लागि नियमित बचत र लगानीको माध्यमबाट सेवा पुर्याइरहेको छ। सञ्चय कोषको व्यवस्थापनसँगै, कोषलाई संघीय सरकार र सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि अंशदायी पेन्सन योजना कार्यान्वयन गर्ने जिम्मेवारी पनि पेन्सन कोष ऐन, २०७५ अनुसार दिइएको छ।